नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टीमा १० बुँदे कार्यान्वयनको विषयमा कुनै समस्या नरहेको बताएका छन् ।
आज यहाँ पत्रकारहरुसँग कुरा गर्दै उनले १० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको बताए । ‘१० बुँदे समझदारी आधारभूत रुपमा कार्यान्वयनमा आइसकेको छ’, उनले भने, ‘कहीँकतै समस्या भए त्यसलाई पार्टीले समाधान गर्छ ।’
महाधिवेशनमा आफ्नो उम्मेदवारीको विषयमा टुङ्गो लागि नसकेको महासचिव पोखरेलले बताए । वरिष्ठ उपाध्यक्षमा तपाईको उम्मेदवारी हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘सल्लाह हुन बाँकी नै छ ।’
नेकपा एमालेको १०औँ महाधिवेशनको तयारीको अवस्था बुझ्न पोखरेलसँगै महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा, सह–संयोजक सुरेन्द्र पाण्डे, पार्टीका उपमहासचिव विष्णु पौडेल, स्थायी समिति सदस्य विष्णु रिमाल, शङ्कर पोखरेल, योगेश भट्टराई र प्रदीप ज्ञवाली चितवन आएका छन् ।
यसैगरी विदेश विभाग प्रमुख राजन भट्टराई, केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङ पनि आज चितवन आएका छन् । उनीहरुले महाधिवेशनको उद्घाटन सत्र हुने भनिएको नारायणी नदी किनारको स्थलगत रुपमा अवलोकन गरी आवश्यक जानकारी लिए ।
नेकपा एमालेको आगामी मङ्सिर १० देखि १२ गतेसम्म महाधिवेशन हुँदैछ ।