काठमाडौंको मैतीदेवी–घट्टेकुलो आसपासमा डेंगुका विरामी बढ्दै गएका छन् । गर्मी याममा तराईमा देखिने डेंगु यसपाली चिसो मौसममै काठमाडौंमा देखिएको छ ।
डेंगु रोग एडीस जातको लामखुट्टेको टोकाईबाट लाग्दछ । असोजबाट यस क्षेत्रमा देखिएका डेंगुका विरामी हालसम्म २३० जना पुगिसकेका छन् । तर, त्यसमध्ये ७५ प्रतिशत विरामी निको भैसकेका छन् ।
काठमाडौं महानगर शहरी स्वास्थ्य क्लिनिक ईन्चार्ज सुनिता बोहराले विशेषगरी मैतीदेवि क्षेत्रमा तरकारीहरु बेच्नका लागि राख्ने र नजिकै खोला पनि भएकाले उक्त क्षेत्रमा डेंगु बढी देखिएको बताइन् । यसपालि पछिसम्म पानी परिरहेको र पानी सङ्कलन गरेर धेरै बेर राख्नाले पनि जोखिम निम्तिएको छ ।
‘मैतिदेवि क्षेत्रमा तरकारी बेच्नका लागि राख्ने र नजिकै खोला पनि छ । त्यही खोलामा लामखुट्टेले फुल पार्दछ र तरकारी बजारतिर लामखुट्टे जाने र टोक्ने भएकाले त्यो क्षेत्र बढी जोखिममा छ,’ बोहराले भनिन् ।
स्वास्थ्य मन्त्रालय र महानगरले डेंगु नियन्त्रण गर्न मैतिदेवि, घट्टेकुलो क्षेत्रका सबै घरमा गएर घरमाथि रहेका ट्याङकीहरुमा अध्ययन गर्ने योजना बनाएको छ ।
ज्वरो आउने, टाउको दुख्ने, शरीरमा मसिना बिमिरा आउने, शरीरको पछाडिको भाग दुख्नेलगायतका लक्षण देखिएमा स्वास्थ्य परीक्षण गराउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।