नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था बिवादमा पर्न नहुने बताएका छन् ।
पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणका लागि शुक्रबार भोजपुर पुगेका अध्यक्ष दाहालले प्रेस सेन्टर भोजपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सो धारणा राखेका हुन् ।
उनले भने, ‘न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विबादमा मुछिनु राम्रो होइन । सर्वाेच्च अदालत भित्रको विवाद त्यही भित्रबाटै मिलाउन सके राम्रो हुन्छ, यस विषयमा हाम्रो पनि साझा धारणा छिटै बाहिर ल्याउँछौं ।’
सरकारमा रहेका पाँच दलीय गठवन्धन चुनावसम्म कायम रहँदै बताउँदै अध्यक्ष प्रचण्डले आवश्यकता महसुस भएका निर्वाचन पछाडिसम्म पनि गठवन्धन कायम रहन सक्ने समेत बताए ।
तीन तहको निर्वाचन एकै पटक गर्न सकिएमा निर्वाचन खर्च पनि जोगिने बताउँदै पार्टी अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन आयोगले चैत्रमा गर्ने भनेतापनि संविधान अनुसार ६ महिना अघिपछि सार्न सकिने पनि बताए ।
झापा लगायतका बिद्रोहहरु पनि पूर्वबाट नै सुरु भएकाले कम्युनिष्ट आन्दोलनका लागि पूर्वी क्षेत्र उर्भर भुमि भएको पनि अध्यक्ष प्रचण्डले दावी गरे ।