प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।
प्रधानन्यायाधीश राणाले १० वटा इजलासमा पेसी तोकेका छन् । उनले आज आफ्ना लागि भने कुनै इजालास पेसी तोकेका छैनन् । तीमध्ये आठ वटा संयुक्त र दुई वटा एकल इजलास छन् । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।
यही कात्तिक ७ गते आइतबार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि प्रश्न उठाई न्यायाधीशले सुनुवाइ गर्न इन्कार गर्दै आएका छन् । सर्वोच्च अदालतमा यही कात्तिक ८ गतेदेखि सबै प्रकारका मुद्दाको सुनुवाइ हुन सकेको छैन ।
सम्बन्धित समाचारः
न्यायालयमा रमिताः सुटुक्क सर्वोच्च छिरे जबरा, बाहिर पक्ष/विपक्षमा प्रदर्शन
बीचमा केही दिन बन्दीका मुद्दामा मात्र सुनुवाइ भएको छ । प्रधानन्यायाधीश राणाले आफूलाई संविधान र कानूनले प्रधानन्यायाधीशका रूपमा जिम्मेवारी दिएको र त्यो पूरा गर्न आफू सक्षम रहेको बताउँदै न्यायाधीशलाई पनि संविधान र कानूनबमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेका छन् ।
अदालतमा इजलास बस्न नसक्दा मुद्दाको सुनुवाइ भएको छैन । यसबाट न्यायको पर्खाइमा बसेका सेवाग्राही मर्कामा परेका छन् । आज सर्वोच्च अदालत परिसरमा नेपाल बार एसोसिएसनको धर्नाका कारण सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ ।