मुस्ताङमा हिउँ पहिरो जाँदा ९ जना घाइते भएका छन् ।
थासाङ गाउँपालिका—२ को माथिल्लो थाप्लामा आइतबार बिहान हिउँ पहिरो जाँदा ९ जना घाइते भएको मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले जानकारी दिए ।
घाइते हुनेमा जनआदर्श अमरसिंह माविका शिक्षक तथा विद्यार्थी रहेका छन् । हावाहुरी र हिउँ पहिरो आएको देखेपछि भाग्न खोज्दा उनीहरू लडेर घाइते भएका हुन् । उनीहरूलाई उपचारका लागि मुस्ताङ लैजाने तयारी गरिएको छ ।
घटनास्थलमा प्रहरी परिचालन गरिसकिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
मुस्ताङको सदरमुकाम जोमसोमबाट १९ किलोमिटर बेनीतर्फको एक हिमालबाट पहिरो खसेको हो । पहिरो खसेपछि अहिले खोला केही बढेको र वरपरका गाउँमा सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।
हिउँ पहिरोले रत्नदेवी तुलाचनको घर भत्किएको छ भने भीम थकाली र सचेन्द्र गौचनका १५० भन्दा बढी चौंरी हराइरहेका छन् ।