प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो पार्टी अदालतभित्रको विवादको विषयमा न्यूट्रल बस्नुपर्ने धारणा राखेका छन् ।
आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा सभापति देउवाले न्यायालयको विवादको विषयमा पार्टीभित्र छलफल गर्न उचित नहुने धारणा राखेको एक नेताले जानकारी दिए ।
सभापति देउवाको भनाई उद्धृत गर्दै ती नेताले भने– ‘अहिले न्यायालयभित्रको विवादको विषयमा पार्टीमा छलफलको विषय बनाउनुहुँदैन्, यो पार्टीमा बहस गर्ने विषय होइन् ।’
देउवाले न्यायालय स्वतन्त्र अंग भएकोले त्यहाँभित्र उत्पन्न भएको विवाद न्यायालयले नै हल गर्नुपर्ने र आफुहरुले त्यही अपेक्षा राखेको सुनाएका थिए ।
पछिल्लो समय प्रधानन्यायाधी चोलेन्द्र शमेशर जबराको राजीनामा मागेर नेपाल बार एशोसिएशनले आन्दोलन गरिरहेको छ । बारले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन नरोकिनेपनि चेतावनी दिएको छ ।
बैठकले १४ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रदेश १ मा कृष्ण सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र प्रसाद बडूलाई संयोजकको जिम्मेवारी दिएको छ ।
कांग्रेसको १४ औँ राष्ट्रिय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ ।