तत्कालिन राजपाबाट मन्त्री बनेर उपेन्द्र यादवको खेमामा पुगेका प्रदेश २ का पर्यटनमन्त्री रामनरेश रायले अन्ततः धोखा पाएका छन् ।
महन्थ ठाकुर समुह त्यागेका मन्त्री रायलाई आज प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले बर्खास्त गरेर बाहिरको बाटो देखाएका हुन् ।
नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सामेल गराउन उनलाई बर्खास्त गरिएको मुख्यमन्त्री श्रोतले जनाएको छ ।
आईतवार मुख्यमन्त्री गद्दीले मन्त्री रायलाई राजीनामा गर्न आग्रह गरेका थिए, तर रायले भने मुख्यमन्त्रीले समेत राजिनामा दिनुपर्ने अडान राखेका थिए ।
मुख्यमन्त्री गद्दीको निर्देशन नमानेका रायलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा पठाईएको स्रोतले जनाएको छ ।
मन्त्री रायलाई हटाईएको ठाउंमा नेकपा एकीकृत समाजवादी प्रदेश २ संसदिय दलका नेता सत्रुधन महतोलाई आजै शपथग्रहण गराईने श्रोतको दावी छ । एकीकृत समाजवादीलाई थप एक मन्त्रालय समेत दिईने श्रोतले बतायो ।
कोरोना कालमा चरम भ्रष्टाचारको आरोप लागेका मन्त्री रायले जसपाबाट लोसपा निर्माण हुंदा माउ पार्टीलाई छोडेर मन्त्री पद जोगाउनकै लागि उपेन्द्र यादव समुह रोजेका थिए ।
संघीय सरकारका कृषिमन्त्री महेन्द्र राय यादवको नजिकका नेता मानिले रायलाई आफु केन्द्रमा मन्त्री बन्न यादवले प्रदेशबाट हटाउने सौदाबाजी गरेको आरोप समेत लाग्ने गरेको छ ।