प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरु अनुपस्थित भएपछि प्रदेश १ प्रदेशसभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ ।
विपक्षी सांसदको अनुपस्थिति रहेपछि सभामुख प्रदीपकुमार भण्डारीले भोलि बुधबार साढे ११ बजेसम्मका लागि बैठक स्थगित गरेको घोषणा गरे ।
सभामुख भण्डारीले बुधबारको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुने भन्दै प्रमुख प्रतिपक्ष दललाई बैठकमा उपस्थित हुन रुलिङ गरेका छन् ।
मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक २८ गते संसद सचिवालयमा प्रस्ताव दर्ता गरी आज विश्वासको मत लिने तयारी गरेका थिए ।
मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले केही दिन बैठक रोक्न माग गरेको थियो । तर त्यस विषयमा अन्य सदस्यहरु सहमत नभएपछि सभामुखले बैठक सुरु गर्नासाथ एक दिनका लागि स्थगित भएको घोषणा गरे ।
प्रदेशसभा बैठक सञ्चालन गर्न प्रतिपक्ष सांसदको उपस्थिति अनिवार्य हुने कुनै व्यवस्था प्रदेशसभा नियमावलीमा छैन ।