चिनियाँ राष्ट्रपति सी जिन्पिङले आफ्ना अमेरिकी समकक्षी जो बाइडनलाई ताइवानको पक्षपोषण गर्नु उनको देशका लागि प्रत्युपादक हुन सक्ने चेतावनी दिएका छन् ।
दुई नेताबीच भर्चूअल माध्यमबाट भएको वार्ताका क्रममा सीले बाइडनलाई ताइवानले खोजे जस्तो स्वतन्त्रतालाई प्रोत्साहन गर्नु आगोसँग खेले जस्तै हुने चेतावनी दिए ।
यसै वर्षको ज्यानुअरीमा बाइडनले पदभार ग्रहण गरेयता दुई नेताबीच भएको यो सबैभन्दा महत्त्वपूर्ण वार्ता हो ।
दुवैले एकअर्काबीच राम्रो व्यक्तिगत सम्बन्ध राख्नुपर्नेमा जोड दिएका थिए र उनीहरूको वार्ता पनि दुई देशबीच तनाव कम गर्ने कुरामा केन्द्रित थियो । तर उनीहरू सबैभन्दा संवेदनशील ताइवानको विषयमा कुरा नगरीकन उम्किन भने सकेनन् ।
चीनले ताइवानलाई आफ्नै भूभाग मान्ने गरेको छ र पुनः एकीकरण गर्ने उसको इच्छा छ । अमेरिकाको चीनसँग दौत्य सम्बन्ध छ । तर आक्रमण भएको अवस्थामा उसले ताइवानलाई रक्षा गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
चिनियाँ सरकारको मुखपत्र भनिने ग्लोबल टाइम्स पत्रिकाले सीले पछिल्लो तनावको कारण प्रजातन्त्रसम्बन्धी विषयमा पटकपटक ताइवानी निकायहरूले अमेरिकाको सहयोग खोज्नु र चीनलाई नियन्त्रण गर्नका लागि ताइवानको प्रयोग गर्ने केही अमेरिकीहरूको उद्देश्य रहेको बताएको उल्लेख गरेको छ ।
‘यस्ता कदमहरू अत्यन्तै खतरनाक छन् । आगोसँग खेले जस्तै । आगोसँग खेल्ने जोकोही जल्नेछ’, सीको भनाइ थियो ।
ह्वाइट हाउसले भने बाइडनले यथास्थिति परिवर्तन गर्न वा ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई कमजोर पार्न एकपक्षीय प्रयासको कडा विरोध गरेको जनाएको छ ।
दुवै नेताले ताइवानबारे कडा धारणा राखे पनि सम्मेलनको आरम्भमा दुवै नेताले एकअर्कालाई न्यानो अभिवादन गरेका थिए । सीले आफ्ना पुराना साथी बाइडनलाई देख्न पाउँदा खुसी लागेको बताए ।
बाइडनले आफूहरू दुवैले एकअर्कासँग इमानदारीपूर्वक स्पष्ट रूपमा कुराकानी गर्ने गरेको बताए । ‘अरूले के भन्लान् भन्ने कुरालाई हामीले कहिल्यै वास्ता गरेनौँ’, उनले भने ।
सीले दुवै देशले वार्तामा सुधार ल्याउनुपर्ने र सँगै चुनौतीको सामना गर्नुपर्ने बताए । बीबीसी