फिलिपिन्सका २८ बर्षीय लिखान्ड्रो लेभिस्टे जलवायु परिवर्तनसँग लड्न अडिग भएका छन् ।
उनले फिलिपिन्समा दक्षिणपूर्वी एसियाकै सबैभन्दा ठूलो सोलार प्लान्ट निर्माण गर्न आफ्नो होल्डिङ कम्पनीको सेयर बेचेर ५०० करोड रुपैयाँ जुटाउन लागेका छन् ।उनको कम्पनी सोलार फिलिपिन्सले मनिलाबाट १३० किलोमिटर उत्तरमा ५०० मेगावाट क्षमताको सबैभन्दा ठूलो सोलार प्लान्ट स्थापना गदैँछन् ।
यसबाट सोलार क्षमता ५० प्रतिशतले बढेर ८ लाख घरमा बिजुली पुग्ने छ । यसका लागि सबै प्रारम्भिक तयारी पूरा भएको छ । ब्लूमबर्ग एनईएफ डाटा अनुसार, फिलिपिन्स २०२० सम्म सौर्य क्षमतामा ११४ देशहरु मध्ये ४२ औँ स्थानमा थियो । तर अब सौर्य उर्जा प्लान्ट जडान भएपछि मुलुकले सन् २०३० सम्ममा कम्तीमा ३५ प्रतिशत विद्युत नवीकरणीय स्रोतबाट प्राप्त गर्ने लक्ष्य हासिल गर्ने देखिन्छ ।
गत बर्ष सरकारले कोइलाबाट चल्ने नयाँ विद्युत आयोजना निर्माणमा रोक लगाएको थियो । फिलिपिन्सले कोप २६ शिखर सम्मेलनमा केही प्लान्टहरु बन्द गर्ने एशियाली विकास बैंक समर्थित योजनामा सामेल भएको छ । लिओन्ड्रो भन्छन्, अहिले हामी २०० मेगावाट सौर्य उर्जा उत्पादन गरिरहेका छौँ । आगामी बर्ष ८०० मेगावाटको निर्माण सुरु गर्ने योजना छ । हामी दक्षिण पूर्व एसियामा सौर्य उर्जाको क्षेत्रमा नम्बर १ बन्न चाहन्छौँ ।