महोत्तरीमा एक महिलालाई जवरजस्ती करणी गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी बिहिबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा भंगहा नगरपालिका ५ सितापुर बस्ने बिपीन मण्डल तथा धनुषा जिल्लाको क्षिरेश्वरनाथ न.पा.३ पर्सा पकडिया बस्ने मनोज यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरिक्षक दिनेशकुमार आचार्यका अनुसार उनीहरुले भंगहा नगरपालिका २ को बखरी टोलकी ३५ वर्षिया एक जना दलित महिलालाई जवरजस्ती करणी गरेका थिए ।
दलित महिला तथा यादवबीच पहिलादेखि नै चिनजान रहेको अवस्थामा असोज १३ गते दुवै जना ज ९ प ५१५८ नम्बरको मोटरसाइकलमा बसाई चौरीमा लगि बलात्कार गरेको प्रहरीले जनाएको छ ।
प्रहरी उपरिक्षक आचार्यले भने, ‘बलात्कारको कारण बेहोस भएका महिलालाई सोही राति दुवैले घरमा छाडेर फरार भएका थिए । बेहोसी अवस्थामा महिलालाई प्रादेशिक अस्पताल जनकपुर पुर्याइएकोमा उनको उपचारकै क्रममा भोलिपल्ट मृत्यु भएको थियो ।’
घटनामा दोषी करार भएका बिपिन यादव गाउँमा लुकिछिपी बसिरहेको सुचनाको आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । यादवलाई सिरहाको मिर्चेया न.पा.५ बाट पक्राउ गरिएको प्रहरीको भनाई छ ।
पक्राउ परेका दुवैलाई जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गर्न अदालतसँग म्याद लिने काम भइरहेको प्रहरुीले जनाएको छ ।