श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने बताएका छन् ।
वैदेशिक रोजगार बोर्डको सहयोगमा वैदेशिक रोजगार पत्रकार समाजले आज यहाँ आयोजना गरेको ‘वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
‘वैदेशिक रोजगारीमा जाने कुनै पनि श्रमिक ठगिनु हुँदैन भन्नेमा म दृढ छु’, उनले भने, ‘यस क्षेत्रलाई व्यवस्थित बनाउन भएका कानूनलाई कडाइका साथ कार्यान्वयन गरिन्छ ।’ वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिक ठगिने क्रम नरोकिएको स्वीकार गर्दै उनले ठगीमा परेका श्रमिकको कुरा नसुनी आफूले कुनै पनि मुद्दाको पुनरावलोकन नगर्ने बताए ।
उनले भने, ‘पीडितलाई न्याय दिलाउन मन्त्रालय र वैदेशिक रोजगार विभाग कटिबद्ध छ ।’
वैदेशिक रोजगारीमा सीपयुक्त जनशक्ति पठाउनुपर्ने, वैदेशिक रोजगारबाट फर्केका युवाको सीप परीक्षण, वैधानिक तवरबाट विप्रेषण भित्र्याउन सरकारले कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै मन्त्री श्रेष्ठले वैदेशिक रोजगारबाट फर्किएका श्रमिकको पुनः एकीकरणसम्बन्धी निर्देशिक छिट्टै मन्त्रालयबाट स्वीकृत हुने बताए ।
उनले ‘फ्रि भिसा र फ्रि टिकट’को नारालाई लागु नगर्नेहरूलाई कानुनी कारबाही गर्ने पनि बताए ।
‘अहिले वैदेशिक रोजगारमा भाषा, भाषण, कस्तो मिठो छ, फ्रि भिसा, फ्रि टिकट, भन्दा त असाध्यै राम्रो हो । अब यसलाई कसरी व्यवस्थित गर्ने ? मैले यो भर्खरै फ्रि भिसा, फ्रि टिकट क्यान्सिल गरिदिने हो भने बाहिरी विभिन्न स्यालहरू छन्, बस्न–खान दिँदैनन्, सर्भिस चार्ज १० हजार भनिएको छ, यसमा जाने श्रमिक पनि ठगिएको छ, राज्यले लिने कर पनि लिन पाएको छैन, सरकार ठगिएको छ, श्रमिक ठगिएको छ । यस विषयमा छलफल गरेर केही निर्णय गर्दैछौँ । श्रमिकहरूले एजेन्टमार्फत् नभई सिधा म्यान पावरमा सम्पर्क गर्ने व्यवस्था कार्यान्वयन गरिनेछ, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई केही परिमार्जन गरेर मार्यादित र व्यवस्थित बनाउने छौं ।’