बागलुङ - धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले पठाएको रु २८ लाख दुई हजार फिर्ता भएको छ ।
बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पताल थियो । एम्बुलेन्सलाई बजेट अपुग भएपछि बाध्य भएर पैसा फिर्ता गर्नुपरेको हालै सेवानिवृत्त भएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताए । ग्रामीण भेगमा फोर ह्विलबाहेकका एम्बुलेन्स किन्न नपाइने सरकारी नीतिका कारण प्रवासी नेपालीले पठाएको रकम सदुपयोग गर्न नसकिएको उनको भनाइ छ ।
भन्सार छुटसहित रु ५५ लाख पर्ने सो एम्बुलेन्सका लागि थप रु २७ लाखको खाँचो थियो । अस्पतालसँग स्रोत नभएको र मन्त्रालयसम्म धाउँदा पनि बजेट नपाएपछि जनस्तरबाट जुटेको सहयोग फिर्ता भएको हो ।
अस्पतालले सुरुमा भारतीय फोर्स कम्पनीको टु ह्विल एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाइएको थियो । रु ८० लाख पर्ने सो एम्बुलेन्स भन्सार छुटमा रु २८ लाखमा आउने भएपछि दाताको मात्रै रकमले किन्न पुग्थ्यो । स्थानीय तह, प्रदेश हुँदै अगाडि बढाइएको एम्बुलेन्स खरिदको प्रस्ताव र सिफारिस सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्म पुगेर रोकिएको राना मगरले बताए ।
मन्त्रालयका पदाधिकारीले बागलुङका हकका विशेष निर्णय गरेर भए पनि टु ह्विल एम्बुलेन्स खरिदका लागि अनुमित दिने बताए पनि निर्णय नदिई अल्झाएर राखेको उनको गुनासो छ ।
गत वैशाखदेखि एम्बुलेन्सका लागि सहयोग जुटाउनदेखि खरिद प्रक्रिया थालेको समितिका पदाधिकारीको पदावधि पनि गत असोज २२ देखि सकिएको छ । नयाँ पदाधिकारीको नियुक्ति अझै हुन सकेको छैन । समितिका सदस्य सचिवसमेत रहनुभएका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट शैलेन्द्र विक पोखरेलले टु ह्विल एम्बुलेन्स खरिद गर्न नीतिगत बाधा देखिएको र फोर ह्विलसहितको सुविधायुक्त एम्बुलेन्सका लागि बजेट अपुग भएको बताए ।
एम्बुलेन्स खरिदका लागि अघिल्लो व्यवस्थापन समितिले पहल लिएको र दाताबाट आएको रकम पनि अस्पतालको खातामा नआई निवर्तमान अध्यक्षमार्फत नै त्यसको सहजीकरण भएको उहाँको भनाइ छ । अत्याधुनिक सुविधायुक्त एम्बुलेन्स सेवा सञ्चालनका लागि मन्त्रालयसँग बजेट माग र समन्वयको काम भइरहेको मेसु पोखरेलले बताए ।
बागलुङ–अष्ट्रेलिया कमिटीले सो रकमबारे सहयोगदातालाई जानकारी गराई कमिटीकै मातहात राखिने भएको छ । दुई सय शय्याको उपप्रादेशिक अस्पतालका रुपमा घोषणा गरिएको धौलागिरि अस्पताल अहिले पनि थोत्रो एम्बुलेन्सका भरमा छ ।