काठमाडौं - पछिल्लो सातादेखि काठमाडौं उपत्यकालगायतका मुख्य सहरहरुमा वायु प्रदूषणको दर उच्च भएको छ । वातावरण विभागको तथ्याङ्कअनुसार काठमाडौं, पोखरा, सिमरा, विराटनगर, महेन्द्रनगरमा वायुको गुणस्तर अस्वस्थकर र हानिकारक भएको छ ।
वायुको गुणस्तर खस्किएसँगै स्वास्थ्यकर्मीहरुले प्रदूषित क्षेत्रका सहरबासीलाई बिहान र साँझपख शारीरिक व्यायामका लागि बाहिर हिँड्डुल नगर्न सुझाव दिएका छन् । सरकारले पार्टिकुलेट म्याटर २.५ आकारको वायुको मापदण्ड ४० माइक्रोग्राम परमिटर क्युवसम्मलाई स्वास्थकर भन्दै राष्ट्रिय मापदण्ड तोकेको छ, तर यसैलाई विश्व स्वास्थ्य संगठनले भने २५ माइक्रोग्राम परमिटर क्युवलाई मात्र स्वास्थकर भन्दै मापदण्ड तोकेको छ ।
शनिबार विहान पोखरामा पार्टिकुलेट म्याटर २.५ आकारको वायुको गुणस्तर १८८ माइक्रोग्राम परमिटर क्युव प्रतिघण्टा पुगेको छ । यो स्वास्थ्यका लागि अति नै हानिकारक हुने वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए । विराटनगरमा १८४, सिमरा १५३, रत्नपार्क १६९ र विरेन्द्रनगर १०५ माइक्रोग्राम परमिटर क्युव पुगेको छ । यो वायुको गुणस्तर खतरनाक भएको भन्दै मर्निङ वाकदेखि जथाभावी बाहिरी क्षेत्रमा हिँड्डुल गर्न नहुने मुटुरोग विशेषज्ञ डा.कुन्जाङ शेर्पाले सुझाव दिए ।
बुधबारदेखि देशैभर मौसम बदली हुँदा वायु प्रदूषणको दर बढ्दै गएको छ । प्रदूषणले वायुमा हानिकारक कण मिसिएपछि यतिबेला नैसर्गिक गुण गुमाएको भन्दै विज्ञहरुले सहरबासीले सडक छेउछाउ मर्निङ वाक गर्नुअघि ख्याल गर्नुपर्ने भएको सुझाव दिएको छ ।
विभागले १०० देखि १५० माइक्रोग्राम परमिटर क्युवसम्मलाई अस्वस्थकर र हानिकारक वायु भनेर मापन गरेको छ । गत वर्ष काठमाडौं ४०० माइक्रोग्राम परमिटर क्युवसम्म पुगेको विभागको तथ्याङ्क छ ।
चिसो बढेसँगै काठमाडौं उपत्यकालगायतका मुख्य शहरहरुमा फोहोर बाल्ने, दाउरा र गुइँठाजन्य बस्तु जलाउने गर्नाले वायु प्रदूषणको दर बढ्ने वातावरण विभागले जनाएको छ ।