सामाजिक अभियन्ता तथा नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायको पहलमा अर्घाखाँचीका हर्निया पीडितलाई साढे २ लाख बढी सहयोग संकलन भएको छ ।
विगत १३ वर्ष अघिदेखि हर्निया रोगबाट पीडित रहेका अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ९ नौलापानीका ४९ वर्षीय श्यामलाल सार्की नेपालीको उपचारका लागि उपाध्यायको पहलमा २ लाख ५१ हजार २ सय रुपैयाँ संकलन भएको हो ।
उपाध्यायले हालसम्म सार्कीको उपचारका लागि १०१ जनाले २ लाख ५१ हजार २ सय रुपैयाँ सहयोग गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
विभिन्न सामाजिक सञ्जालमा श्यामलालको समस्या बाहिर आएपछि उपाध्यायले गत हप्तादेखि आर्थिक सङ्कलन अभियान सञ्चालन गरेका थिए ।
उपाध्यायको उक्त अभियानपछि सार्कीलाई काठमाडौं ल्याएर वीर अस्पतालमा भर्ना गरिएको छ । प्रारम्भिक चेकजाँचको क्रममा सार्कीको रगत ठिक रहेको र कलेजोमा समस्या देखिएको छ । साथै पेटमा २० लिटर पानी जमेको पत्ता लागेको छ ।
सबै चेकजाँचको रिपार्ट सोमबार आएपछि सार्कीको उपचार सुरु गरिने उपाध्यायले बताए ।