राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध गरेकी छन् ।
महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा पहलकदमी लिन सम्बद्ध सबैपक्षसँग आग्रह गरेकी हुन् ।
‘प्रदेश–२ प्राचीन मिथिलाका अष्टावक्र, याज्ञवल्क्य, गार्गी, मैत्रेयी र राजा जनकसहितका विद्वान, विदुषीको साधना र तपको थलोका रुपमा परिचित छ’, राष्ट्रपति भण्डारीले भनिन्, ‘हामीले आफ्नो गौरवपूर्ण विगतलाई सम्मान गर्दै यी सम्बद्ध धरोहरको संरक्षण र सम्वद्र्धन गर्न पर्दछ ।’
मैथिली भाषाका महाकवि विद्यापतिको साधनाले मुलुकको वाङ्मय समृद्ध बनेको पनि उनले चर्चा गरिन् । मुलुकको विकास र पहिचानमा खेलकूद क्षेत्रको महत्वपूर्ण स्थान हुने राष्ट्रपति भण्डारीको भनाइ छ ।
प्रदेश–२ सरकारले थालेको ‘छोरी बिमा’ र ‘बेटी बचाउ–बेटी पढाउ’ कार्यक्रमको राष्ट्रपति भण्डारीले सराहना गरिन् ।
समारोहमा राष्ट्रपति भण्डारीलाई मटिहानी नगरपालिका, सांसद चन्दा चौधरी र महोत्तरी उद्योग वाणिज्य सङ्घले मिथिला कला, संस्कृति झल्कने उपहार प्रदान गरे ।
सो अवसरमा मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले राष्ट्रपतिलाई अभिनन्दनपत्र प्रदान गरे ।
करिब तीन करोड लागतमा एक बिघा १९ कठ्ठा क्षेत्रफलमा निर्मित रङ्गशालाको उद्घाटनपश्चात् राष्ट्रपति भण्डारीले मटिहानीस्थित ५०० वर्ष पुरानो लक्ष्मीनारायण मठको अवलोकन, लक्ष्मीनारायण मन्दिर र सन्त तश्मैयाबाबाको खन्तीको दर्शन र पूजाआराधना गरिन् । यसैगरी राष्ट्रपति भण्डारीले ३०३ वर्ष पुरानो राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गरिन् ।
मटिहानीको कार्यक्रमपछि राष्ट्रपति भण्डारीले जलेश्वरस्थित श्रीजलेश्वरनाथ महादेवको दर्शन र पूजाअर्चना गरिन् । रासस