निर्माण भएको नालामा स्लेब नराखिदा बारामा आज एक बालकको मृत्यु भएको छ ।
बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १० देवापुर टेटामा आज बिहान करिब ८ बजे २ वर्षका बालकको मृत्यु भएको हो ।
स्थानि २४ वर्षिय राजु ठाकुरका २ वर्षिय छोरा मनिष कुमारको नालामा डुबेर मृत्यु भएको स्थानिय पत्रकार सिकेन्द्र साहले जनाए ।
घर अगाडिको नाला वरिपरी खेलिरहेको अवस्थामा बालक डुबेका थिए । डुबेको सुईको नपाएका अभिभावकले गाउंभरी खोजतलास गर्दा भेटिएका थिएनन् । पछि करिब एघार बजे नालाको पानीमा तैरीएको अवस्थामा मृतक मनिष फेला परेका थिए ।
अचेत अवस्थामा रहेका मनिषलाई नजिको स्वास्थ्य चौकीमा लैजादा पहिलानै मृत्युु भैसकेको स्वास्थ्य केन्द्रका डा.रामचन्द्र यादवले बताए ।
बिगत एकवर्ष पहिलानै नाला निर्माण भएतापनि त्यसमाथि स्लेब राखिएको थिएन । गाउंभरिकै नाला निर्माण गरेर स्लेब नराखिदा यस्ता घटनाहरु हुने गरेका छन् । घटनास्थल सदरमुकाम कलैयाभन्दा करिब २५ किलोमिटर पुर्वमा पर्दछ ।