नेपाली कांग्रेसले कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा महाधिवेशन सम्पन्न गरेको छ । मत परिणामअनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा एनपी साउँद र क्षेत्र नम्बर ३ मा रमेश लेखक निकटका उम्मेदवार प्यानलसहित विजयी भएका छन् ।
कांग्रेस कञ्चनपुरको प्रचारप्रसार विभागका प्रमुख चक्रबहादुर महताका अनुसार क्षेत्र नम्बर १ मा हरि चन्दलाई पराजित गर्दै गोपी उपाध्याय सभापतिमा निर्वाचित भएका छन् । क्षेत्र नम्बर २ मा नवराज जोशीलाई पराजित गरेर लालबहादुर सिंह सभाभापति निर्वाचित भएका छन् । उनीहरु दुबै एनपी साउद निकट हुन् ।
निर्वाचन क्षेत्र नम्बर ३ मा गणेश नेगीलाई पराजित गरेर केशब चन्द प्यानलसहित सभापतिमा निर्वाचित भएका छन् । उनी नेता लेखक निकट हुन् । केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहेका नेता लेखक र साउदबीच जिल्लामा भने महाधिवेशनमा कडा प्रतिस्पर्धा भएको थियो । क्षेत्र नम्बर १ मा भने नेता दिवानसिंह विष्टले साउदलाई साथ दिएका थिए ।