कैलालीमा विद्युतीय धरापको पासोमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका वडा ७ को सुनपाल सामुदायिक वनमा शिकारको लागि विच्छाएको विद्युतीय धरापको पासोमा परेर सोही वडाका करिब ५५ वर्षका देव बहादुर बोहराको मृत्यु भएको हो ।
शिकारी समूहले वन्यजन्तुको शिकार गर्न विच्छाएको नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको हो । मृतकको नजिकमा एक थान भरुवा बन्दुक समेत फेला परेको इलाका प्रहरी कार्यालय मसुरियाका प्रहरी नायब निरीक्षक राम सिं कार्कीले जानकारी दिए ।
सामुदायिक वनका वनहेरालु छत्र बहादुर धामी र जसुवा धामीले वन गस्तीको क्रममा ११:३० बजेको समयमा सामुदायिक वनको पानी पोखरी नजिकै बोहरालाई मृत अवस्थामा फेला परेका थिए ।