रिलायन्स स्पिनिङको कारोबार पौने ८ अर्ब पुग्ने भएको छ । बिक्रीमा वृद्धिपछि २०२१ मा कम्पनीको कुल व्यापार २५ प्रतिशतले बढेर सात अर्ब ७९ करोड २० लाख रुपैयाँ पुग्ने जनाएको छ ।
रिलायन्स स्पिनिङ मिल्सको कारोबार सन् २०२१ मा सात अर्ब ७९ करोड २० लाख रुपैयाँको कारोबार गर्ने अनुमान गरिएको छ।
२०२० मा कम्पनीले ६ अर्ब २६ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो। २०१९ मा रिलायन्स स्पिनिङ मिलले सात अर्ब ४२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो।
रिलायन्सले पोलिस्टर, विस्कोस, एक्रिलिकरब्लेन्डेडलगायतका सामाग्री उत्पादन गर्दै आएको छ। सुनसरीमा रहेको रिलयान्सको उद्योगको मध्य जुलाई २०२१ मा वार्षिक उत्पादन क्षमता ४० हजार ६८० टन रहेको रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले जनाएको छ।
रिलायन्सले आफ्ना उत्पादन भारत र टर्कीमा समेत निर्यात गर्दै आएको छ। कम्पनीको कुल निर्यातको ६१ प्रतिशत हिस्सा भारत र १२ प्रतिशत टर्की रहेको केयर रेटिङ्स नेपालले जनाएको छ। रिलायन्सले उत्पादनका लागि आवश्यक मुख्य कच्चा पदार्थ धागो चीन, भारत, हङकङ, इन्डोनेसिया, मलेसिया र थाइल्याण्डबाट आयात गर्दै आएको छ।
यस्तै, कम्पनीले वार्षिक ९ हजार ३६० टनले कपास र सिन्थेटिक स्पन धागोको उत्पादन क्षमता बढाउँदै छ। जसका लागि कम्पनीलाई करिब तीन अर्ब रुपैयाँ आवश्यक पर्ने बताइएको छ।
पहिलो चरणको क्षमता विस्तार स्वरुप सिन्थेटिक स्पन धागोका उत्पादन क्षमता बढाउन रिलायन्सले एक अर्ब ३० करोड ६० लाख रुपैयाँ ऋण लिइसकेको छ। दोस्रो चरणको क्षमता विस्तार गर्न २०२२ मा थप एक अर्ब ६९ करोड ४० लाख रुपैयाँ ऋण लिने तयारी रिलायन्सको छ। सिन्थेटिक स्पन धागोको युनिट कम्पनीले फेब्रुअरी २०२१ देखि संचालनमा ल्याएको थियो।
यसका साथै कम्पनीले थप एक अर्ब ६२ करोड रुपैयाँ कटन स्पन धागोको युनिट संचालनमा सन् २०२२ मा ऋण लिने योजना बनाएको छ। यसको व्यवसायिक उत्पादन अगस्ट २०२२ बाट गर्ने लक्ष्य रिलायन्सको छ।
त्यसैगरी, सन् २०२० मा रिलायन्सको बिक्री २१ हजार २६१ टन रहेकोमा २०२१ मा बढेर २८ हजार ६७० टन पुग्ने अपेक्षा गरिएको केयर रेटिङ्स नेपालले जनाएको छ।