सर्वोच्च अदालतले मङ्सिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्ने औपचारिक निर्णय गर्न आज पूर्ण बैठक बोलाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बाहेकका न्यायाधीशहरुबीच बुधबार भएको छलफलले संशोधित नियमावलीअनुसार पेसी व्यवस्थापनको मिति तोक्नेबारे निर्णय लिन पूर्ण बैठक बोलाएको हो ।
बैठकले मिति तोकेपछि राजपत्रमा प्रकाशन भएर कार्यान्वयनमा आउने नियमावलीमा व्यवस्था रहेको छ ।
सामान्य अवस्थामा प्रधानन्यायाधीशको निर्देशन बमोजिम मुख्य रजिष्ट्रारले पूर्ण बैठक बोलाउनुपर्ने प्रावधान भए पनि प्रधानन्यायाधीश जबराको नेतृत्व अस्वीकार गर्दै आएका न्यायाधीशहरूले फुलकोर्ट बोलाउने निर्णय गरेका हुन् ।
यसैबिच, प्रधानन्यायाधीश जबराले राजीनामा मागेर प्रदर्शनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज पनि धर्ना तथा विरोधका कार्यक्रमलाई जारी राखेको छ । बारले तेस्रो चरणको विरोधको कार्यक्रम शुक्रवारसम्म जारी रहने जनाएको छ ।
यस्तै, प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्न माग गर्दै नेपाल बार एसोसिएसन, बृहत् नागरिक आन्दोलनसहित विभिन्न पेशागत सङ्घसंस्थाले आज सर्वोच्च अदालतदेखि बालुवाटारसम्म संयुक्त रूपमा ‘न्याय मार्च’ गर्दैछन् ।
दिउँसो २ बजेदेखि सुरु हुने सो मार्चपासमा नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासङ्घ, नेपाल शिक्षक महासङ्घ, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य सङ्घ, नेपाल आदिवासी जनजाति महासङ्घ र बृहत् नागरिक आन्दोलन सहभागी हुने जनाइएको छ ।
यसैबीच सो मार्चमा सहभागी हुन उनीहरूले आम नागरिकलाई संयुक्त रुपमा अपिलसमेत गरेका छन् ।