चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा आजदेखि सुरु भएको एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिएका छन् ।
एमाले महाधिवेशनलाई सफलताको शुभकामना दिँदै कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संस्थागत गर्दै बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको रहेको बताए ।
उनले महाधिवेशको सफलताको शुभकामना दिँदै लोकतान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्ने अभियानमा भूमिका खेल्न एमालेलाई आग्रह गरे ।
उनले पार्टीबीच मत भिन्नता रहे पनि देश र जनतासँग जोडिएको विषयमा समान धारणा बनाउन सहकार्य आवश्यक रहेको रहेकोमा जोड दिए ।
सम्बन्धित समाचारः एमालेका लागि हैन, देशका लागि एकल बहुमत ल्याउनुपर्नेछः अध्यक्ष ओली
नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले नेपालमा कम्युनिष्ट पार्टीको एकता अनिवार्य रहेको बताए । उनले राष्ट्रिय हित र विकासमा मतभेद हुन नहुने धारणा राखे ।
‘कम्युनिष्ट आन्दोलनलाई सफलताको शिखरमा पुर्याउन एकता र धु्रवीकरण अपरिहार्य छ’, उनले भने, ‘विचार र कार्यदिशा एकताको आधारशिला हो । एक्लो यात्राले समृद्धि हासिल गर्न कठिन छ ।’
राष्ट्रिय हितका विषयमा सबै एकताबद्ध हुनुपर्नेमा उनले जोड दिए । एकता, सङ्घर्ष र सहकार्य निरन्तर चलिरहने प्रक्रिया हो भन्दै नेता पोखरेलले कम्युनिष्ट पार्टीको बीचमा मतभेद र तीक्तता भए पनि सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधानलाई समावेशी र सङ्घीयतालाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनसँग जोडिएका माग पूरा गराउन अधिकतम प्रयास गरेकामा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिए । ओलीले मधेस आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयन गरेको उनको भनाइ थियो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिष्ट पार्टी एकजुटको विकल्प नरहेको बताए । उनले कम्युनिष्ट एकताले मात्र देश र जनताको हित हुने धरणा राख्खे । देश र जनताका लागि दल एक ढिक्का हुनुको विकल्प नरहेको केसीको भनाइ थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेका अध्यक्ष ओलीले राष्ट्रको हितमा काम गरेर नेपाली जनतालाई गुन लगाएको बताए । ओलीले लिपुलेक–लिम्पियाधुरासहितको नयाँ नक्सालाई संस्थागत गरेको उनको भनाइ थियो ।
चीनसँग व्यापार र पारवाहन सम्झौता गर्न सफल भएको अध्यक्ष थापाले बताए । उनले ओली सरकारले मधेसको पृथकतावादी आन्दोलन र विप्लव समूहलाई शान्तिपूर्ण अभियानमा ल्याएको उल्लेख गरे ।