कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाउने सर्लाहीमा ४६.२६ प्रतिशत पुगेका छन् ।
शुक्रबारसम्म जिल्लामा ४६.२६ प्रतिशत अर्थात् २ लाख ४१ हजार जनाले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ। स्वास्थ्य कार्यालयका अनुसार ३० हजार नागरिकले पहिलो मात्रा खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख डाक्टर नवल किशोर झाले पहिलो मात्रा खोप लगाएकाहरू अहिले धमाधम दोस्रो मात्रा खोप लगाइरहेको बताएका छन् । आइतबारसम्म उनीहरू सबैले पूर्णमात्रा खोप लगाई सक्ने उनको भनाइ छ ।
जिल्लामा १८ वर्षमाथिका खोप लगाउने उमेरका झण्डै ५ लाख २१ हजार नागरिक रहेको स्वास्थ्य कार्यालय सर्लाहीको तथ्यांकमा उल्लेख छ ।
तथ्यांक अनुसार जिल्लामा अझै २ लाख ५० हजारको हाराहारीमा कोरोना खोप लगाउन बाँकी रहेको डाक्टर झाको भनाइ छ ।जिल्लामा उपलब्धताको आधारमा प्राप्त खोप प्राथमिकताको आधारमा लगाउने गरिएको उनले बताए ।