तपाईंको सामान्य ज्ञान कति छ ? यदि तपाईं सामान्य ज्ञानमा अब्बल हुनुहुन्छ भने रिक्सामा यात्रा गर्दा भाडा तिर्नु पर्दैन । सुन्दा निकै रमाइलो लाग्दो यो समाचार नेपालको भने होइन । छिमेकी मुलकु भारतको पश्चिम बंगालस्थित हावडाको लिलुवामा एकजना रिक्सा चालकले यात्रुको सामान्य सामान्य ज्ञानको परीक्षा लिने गरेका छन् । आफूले सोधेका सामान्य ज्ञानको सही जवाफ दिने यात्रुसँग उनले भाडा लिँदैनन् ।
फेसबुकमा एक प्रयोगकर्ताले सुरन्जन कर्मकार नामका ती ई(रिक्सा चालकसँगको आफ्नो अनुभव शेयर गरेका छन् । स्थानीय भाषामा टोटो भनिने ई-रिक्सामा पत्नीसँगै यात्रा गर्दा चालकले सामान्य ज्ञानको परीक्षा लिएको अनुभव कर्मकारले विस्तृतमा शेयर गरेका छन् । ती रिक्सा चालकले यात्रुलाई सुरुमै एउटा अफर दिँदा रहेछन् ।
यदि आफूले सोधेका १५ वटा सामान्य ज्ञानका प्रश्नको सही जवाफ दिएमा रिक्सायात्राको भाडा तिर्नु नपर्ने उनको अफर हुन्छ । उनले भारतको इतिहास, साहित्या देखि लिएर विश्व इतिहास तथा विज्ञानलगायतका हरेक क्षेत्रबाट प्रश्न सोध्ने गर्दछन् ।
आर्थिक समस्याका कारण ६ कक्षाबाटै स्कुल छाडेका कर्मकारलाई सामान्य ज्ञानमा निकै रुचि छ । उनी रातको २ बजेसम्म सामान्य ज्ञानका किताब पढ्दछन् र स्थानीय बुक फेयर फाउन्डेसनका सदस्य पनि हुन् । उनले अल्बर्ट आइन्स्टाइनदेखि स्टेफन हकिंग्सलगायतका विश्वका सबै चर्चित व्यक्तिको जन्मदिन मनाउँदछन् र आफ्नो रिक्सामा विश्व चर्चित व्यक्तिहरुका तस्वीर पनि टाँसेका छन् ।