हालै दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम निरन्तर चलिरहने प्रकृया भए पनि यस भेरियन्टलाई भने वैज्ञानिकहरुले अर्थपूर्ण रुपमा लिएका छन् ।
छिटो सर्ने र बढी मानिसलाई संक्रामक पार्न सक्ने खालका भेरियन्टलाई भेरियन्ट अफ कन्सर्न भनिन्छ । विश्व स्वास्थ्य संगठनले यस भाइरसको नाम ‘ओमिक्रोन’ राखेको छ । संगठनले ‘ओमिक्रोन’ चिन्ताजनक रहेको जनाएको छ ।
ओमिक्रोन भेरियन्टको उत्परिवर्तन संख्या धेरै र पुनः संक्रमण हुने जोमिख बढिरहेको वैज्ञानिकहरु बताउँछन् । हालसम्म ओमिक्रोन भेरियन्ट दक्षिण अफ्रिकासहित बेल्जियम, इजरायल, बोत्स्वाना र हङकङमा फेला परिसकेको छ ।
नेपालमा कति जोखिम ?
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार नेपाल पनि यस भेरियन्टको जोखिममा रहेको छ ।
नेपालले विभिन्न देशहरुसँग हवाई उडानलाई खुल्ला गरेकाले उक्त भेरियन्ट नेपाल भित्रन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।
नेपालले विभिन्न देशहरुसँगको हवाई यात्रालाई खुल्ला गरेको छ । नयाँ देखिएको भेरियन्ट अन्य देशहरुमा पनि पुगिसकेको छ । त्यस्तो देशबाट नेपाल आउनेहरुमा उक्त भाइरसको संक्रमणको जोखिम उच्च हुन्छ ।
के गर्दैछ सरकार ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्टको जोखिम नेपालमा पनि रहेको कुरालाई स्वीकार गरे ।
उक्त नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै भेरियन्ट फेला परेका देशबाट नेपाल आउने व्यक्तिलाई अनिवार्य क्वारेन्टाइनमा राखी पिसिआर गरिने प्रवक्ता डा.पौडेलले बताए ।
अहिले नेपालको सिधा हवाई उडान दक्षिण अफ्रिकासँग छैन । तर, अन्य देशमा पनि यो संक्रमण फैलिएको हुनाले कुन कुन देशसँगको उडान रोक्ने भन्ने सन्दर्भमा भने केहीपछि निर्णय हुनेछ ।
संक्रामक रोग विशेषज्ञ डा. पुनका अनुसार दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्टले अहिले विकसित भैरहेका खोपलाई पनि छल्न सक्छ ।