नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी सदस्य संख्या १० लाख पुग्न लागेको बताएका छन् ।
शनिबार नेकपा (माओवादी केन्द्र) का स्थानीय तह र पार्टी शाखा समितिका सम्मेलन उद्घाटन समारोहलाई भर्चूअल माध्यमबाट विशेष सम्बोधन गर्दै प्रचण्डले सो जानकारी दिएका हुन् ।
उनले हालसम्म माओवादीको सदस्य संख्या ८ लाख पुग्न थालेको र नविकरणको प्रक्रियामा रहेकोका प्रक्रिया पूरा भएपछि पार्टी सदस्य संख्या १० लाख पुग्ने बताए ।
उनले माओवादी पार्टीप्रति जनतामा आशा भरोसा बढेको र यसै गरि काम गरेमा केही महिनामै पहिलो पार्टी बनाउन सकिने बताए ।
उनले जारी एमालेको महाधिवेशनलाई ‘कुम्भमेला’ संज्ञा दिए र माओवादी सम्मेलन त्योभन्दा फरक हुने दाबी गरे ।
उनले थपे, ‘अरु कोही पार्टी विचारबारे सोच्ने र बहस गर्ने स्थितिमा छैनन् । हिजो हामीले एउटा कुम्भमेला देख्यौं । त्यहाँ विचारलाई कुनै ठाउँ छैन । भ्रम दिने कोशिष मात्रै छ । तथाकथित अधिवेशन हो त्यो । तीभन्दा भिन्न हामी विचारलाई संगठनात्मक आचार व्यवहारलाई ध्यान दिनेछौं । ती तथाकथित अधिवेशन र हाम्रो विचार संस्लेषणको अभियानमा कुनै तुलना हुँदैन ।’
यसअघि कांग्रेस नेता गगनकुमार थापाले एमालेको चितवनमा भइरहेको महाधिवेशनलाई ओलीवेशन भनेर टिप्पणी गरेका थिए ।
प्रचण्डले संघ र प्रदेशहरुमा सरकारबाट एमाले बाहिरिनु आफूहरूको लागि खुसीको कुरा भएको बताए । प्रचण्डले भने, ‘ओली प्रवृति र विघटनकारी प्रवृत्तिका रूपमा केपी ओली जनताकाबीचमा नांगिए र सबै सरकारबाट अलग हुनुपर्ने अवस्था आयो । यो कम्युनिष्ट पार्टीका लागि खुसी र गर्वको कुरा हो ।’