नेपाली कांग्रेसका नेता गगनकुमार थापाले एमालेमा अब ‘जनवाद’ सकिएको र केपी शर्मा ओलीको ‘डनवाद’ सुरु भएको आरोप लगाएका छन् ।
आइतबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको १४ औँ जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता थापाले सो आरोप लगाएका हुन् ।
उनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा गरेका काम हेर्दा आफूलाई कम्बोडियाका प्रधानमन्त्री हुन सेन जस्तो लागेको भन्दै ओलीको आदर्श पुरुष हुन सेन रहेको आरोप लगाए । हुन सेनको विरुद्धमा लेख्ने र बोल्नेले आफ्नो काम छाडेर बिदा हुनुपरेको भन्दै नेता थापाले ओलीको विपक्षमा खडा हुने व्यक्ति मञ्चबाट नै भीम रावलको जसरी लखेटिने बताए ।
उनले चितवनमा भइरहको नेकपा एमालेको महाधिवेशनमा बन्द सत्र नभइ ‘ओली सेसन’ चलिरहेको बताए ।
उनले एमाले अहिले बरालिएको भन्दै बरालिएको एमालेलाई कांग्रेसले ठेगानमा ल्याउनुपर्ने बताए ।