नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ ।
गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पिटल अफ सेनसेज लगेर सोही दिनबाट उपचार सुरु गरिएको थियो । उपचार सुरु गरेको चौथो दिनमा नै नेता पुनको स्वास्थ्यामा प्रारम्भिक सुधार देखिएको संगै रहेकी नेता पुनकी पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीले जानकारी दिइन् ।
नेता पुनको उपचारमा तीन दर्जन भन्दा बढी चिकित्सक र नर्सको टोली खटिएका छन् । पछिल्लो परीक्षण अनुसार नेता पुनलाई सताएको विश्वमै विरलै देखिने जण्डिस बिलरुविनको मात्रा समेत घटेर १८ मा झरेको छ । यस अघि बैंककमा छँदा बिलरुविनको मात्रा २२ थियो ।
बिलरुविन बढ्दा त्यसको प्रभावका कारण हुने वान्ता, शरीर चिलाउने, निद्रा नलाग्ने, खान मन नलाग्ने, शरीर सुन्निनेजस्ता समस्यामा सुधार भएको छ ।
उपचारमा सहभागि चिकित्सकले नेता पुन खतरामुक्त रहेको र केही समयपछि निको भएर नेपाल फर्कन सक्ने बताएका नेता पुनको पूर्व स्वकीय सचिव तथा माओवादी केन्द्रीय सदस्य दुर्गा चापागाईंले जानकारी दिए ।
बैंककबाट चीन उड्दा उनको शरीर सुन्निएर ७२ केजी थियो भने अहिले घटेर ६७ केजीमा झरेको छ ।
दिशामा रगत जाने समस्या पनि बन्द भएको छ । नेता पुनले आइतबार राति अध्यक्ष प्रचण्डसँग भिडिओमा कुराकानी गरेका थिए ।
वंशाणुगत रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन असोज १३ गते बैंकक गएका थिए ।