बिपन्नहरुको लागी स्थापित कोषबाट उपचारको नाममा आर्थिक सहयोग लिएकी प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्रकी श्रीमती उषा मिश्रले ५ लाख रुपैयाको चेक फिर्ता गरेकी छिन् ।
मुख्यमन्त्री लालबाबु राउत गद्दीले कानुन मिचेर प्रदेश प्रमुख हरिशंकर मिश्रकी श्रीमती उषा मिश्रलाई औषधि उपचारको नाममा पांच लाख रुपैया प्रदान गरेका थिए ।
नेपाली पब्लिक लगायतका सञ्चारमाध्यमहरुमा प्रदेश प्रमुखकै श्रीमतीले सहयोग लिएको खबर सार्वजनिक भएको थियो ।
गरिबको लागि खडा गरिएको कोषबाट हुनेखाने र भिआईपीहरुले पहुंचको आधारमा रकम बुझेको चर्चा जनमानसमा फैलिएपछी मिश्रले सो रकम फिर्ता गरेकि हुन् ।
मिश्रले ५ लाख रुपैया सहयोग लिएको खबरले मुख्यमन्त्री कार्यालयको चर्को आलोचना भएपछि प्रमुख सचिव हरिप्रसाद मैनालीले सचिव यमप्रसाद भुसाललाई मिश्रको नाममा काटिएको चेक फिर्ता गराउन निर्देशन दिएका थिए ।
निर्देशन अनुसार आफुले चेक फिर्ता लिई क्यान्सिल गराएको मुख्यमन्त्री कार्यालयका सचिव यमप्रसाद भुषालले नेपाली पब्लिकलाई बताए ।
यसअघि पनि सरकारले कार्यविधि मिचेर पूर्वमन्त्री, प्रदेशसभा सदस्य तथा नेता निकटस्थ व्यक्तिलाई पैसा दिएपछि त्यसको चर्को आलोचना भईरहेको छ ।
असहाय, विपन्न वर्ग, अशक्त तथा गम्भीर प्रकृतिका रोगीलाई सहायता गर्न स्थापना गरिएको मुख्यमन्त्री राहत कोषबाट मुख्यमन्त्री गद्दीले आफ्ना आसेपासेका र कार्यकर्ताहरुलाई करोडौं रकम बाडेका छन् ।
प्रदेश प्रमुखकी श्रीमती उषा मिश्रले रकम फिर्ता गरेपनी मुख्यमन्त्री गद्दीले गैरकानुनि रुपमा बाडेको अन्य रकम फिर्ता गराउन दबाव बढेको छ ।