चितवन — सौराहमा जारी नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सम्पन्न मतदानको दिउँसो १ बजेदेखि मतगणना सुरु भएको छ ।
एमाले केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले आज दिउँसो १ बजेपछि मतगणना सुरु भएको जानकारी दिए ।
दाहालले मतगणना सुुरु गरेको दुई घण्टाभित्र मतपरिणाम सार्वजनिक गर्ने तयारी भएको जानकारी दिए ।
महाधिवेशनमा दुई हजार ९६ जनाले मतदान गरेका थिए । एमाले महाधिवेशनमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए । महाधिवेशनअन्तर्गत विभिन्न ५० पदका लागि मतदान भएको थियो ।
महाधिवेशनमा अध्यक्ष, उपाध्यक्ष, सचिवसहित केन्द्रीय सदस्यहरुका लागि मतदान गरिएको थियो । खुला केन्द्रीय सदस्य, खुला महिला केन्द्रीय सदस्यसहित केही समावेशी पदमा मतदान भएको थियो ।
मत गणनामा सहभागी स्रोतका अनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता लिएका छन् । विद्युतीय भोटिङ मेसिनबाट भइरहेको मतगणनामा नेकपा एमालेको अध्यक्षमा ओलीले प्रतिस्पर्धी रावललाई पछि पार्दै भारी मतले अग्रता लिएका छन् ।
हालसम्म ओलीले ७६३ सय मत पाउँदा डा.भीम रावलले ४२ मत पाएका छन् ।
तर, यसबारे निर्वाचन आयोगले केही जानकारी दिएको छैन ।