त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनदेखि गोल्डेन गेटसम निःशुल्क सटल बससेवा सुरु गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारमा जाने श्रमिकका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनभित्र विश्राम कक्षको समेत व्यवस्था गरेको छ ।
सटल बस र विश्रामकक्षको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेमबहादुर आलेले बुधबार शुभारम्भ गरे । टर्मिनल भवनदेखि नै ट्याक्सी प्रयोग गर्दा महँगो भाडा तिर्नुपर्ने यात्रुको गुनासोलाई मध्येनजर गर्दै प्राधिकरणले गोल्डेन गेटसम्म तत्कालका लागि तीन वटा निःशुल्क सटल बसको व्यवस्था गरेको हो ।
सो सटल बस बिहान ६ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुनेछन् । त्यसैगरी वैदेशिक रोजगारीमा जाने यात्रु टर्मिनल भवन बाहिरै उभिनुपर्ने समस्या देखिएपछि ४० यात्रु बस्न मिल्ने विश्रामकक्षको व्यवस्था गरिएको छ ।
सोही अवसरमा मन्त्री आलेले अन्तरिक टर्मिनलमा देखिएको यातायातको समस्याको दीर्घकालीन समाधानका लागि सरकारले सटल बसको व्यवस्था गरिएको जानकारी दिए ।
‘आन्तरिक टर्मिनल भवनदेखि नै ट्याक्सी प्रयोग दर्गा हवाई जहाजभन्दा बढी भाडा लिने गरेको पाइयो, त्यसको दीर्घकालीन समाधानका निम्ति सटल बसको व्यवस्था गरिएको छ, विमानस्थललाई अझै व्यवस्थित र सुविधा सम्पन्न बनाउन मेरो प्रयास जारी छ’, मन्त्री आलेले भने ।