सत्तारुढ पाँच दलका शिर्ष नेताहरुको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्मेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव एको छ ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानन्यायाधीश विरामी भएकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठवन्धनले निष्कर्ष निकालेको जानकारी दिए ।
प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भएपछि अस्पतालमा भर्ना भएका छन् । जबरा विभिन्न विवादमा मुछिएपछि उनको राजीनामा माग्दै कानून व्यवसायीहरुले आन्दोलन गर्दै आएका छन् ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेललगायतका नेताहरु सहभागी थिए ।