तमिलनाडुको विरुधुनगरमा हत्याको एउटा डरलाग्दो घटना सार्वजनिक भएको छ । जसमा हत्यारा आरोपितको उमेर मात्र १३ बर्ष रहेको छ ।
मृत्यु हुने बालक ९ बर्षका हुन् । खेलकै क्रममा झगडा भएपछि आरोपित बालकले ९ बर्षीय बालकलाई पौडी खेल्ने बहानामा पोखरीमा लगेर हत्या गरेको प्रहरीले जनाएको छ ।
विरुधुनगरमा बसोबास गर्ने १३ बर्षीय बालक आफ्नो ९ बर्षीय साथीसँग सधैँझै खेल्दै थिए । त्यसपछि कुनै कुरालाई लिएर दुईबीच झगडा भयो । ९ बर्षीय बालकका बुबाले १३ बर्षीय बालकका बुबालाई यसबारे गुनासो गरे । जसका कारण घरमा उनलाई धेरै गाली गरे ।
यसबाट आक्रोशित १३ बर्षीय बालकले डरलाग्दो कदम उठाए । उनले पौडी खेल्ने बहानामा ९ बर्षीय बालकलाई पोखरीमा लगे र त्यहाँ उनले बालकलाई जबरजस्ती पोखरीमा डुबाएर मारे । घटनापछि उनी घर फर्किए । तर साँझसम्म ९ बर्षीय बालक घर नपुगेपछि परिवारका सदस्य चिन्तित भएर खोजीमा लागे ।
तर उनको केही अतोपतो लागेन । उनी घर नफर्केपछि आफन्तले प्रहरी चौकीमा गएर हराएको उजुरी दिए । परिवारसँगै प्रहरीले पनि बालकको खोजी गरेको थियो ।
यसैबीचमा प्रहरीले पोखरीमा बालकको शव तैरिरहेको अवस्थामा फेला पारेको छ । प्रहरीले शवलाई निकालेर पहिचान गरी पोस्टमार्टमको लागि पठाएको छ । १३ बर्षीय अभियुक्त्तले ९ बर्षीय बालकको जबरजस्ती हत्या गरेको स्वीकारेका छन् । प्रहरीले बालकलाई नियन्त्रणमा लिइ बाल सुधार केन्द्र पठाएको छ ।