यही मङ्सिर–२२ र २३ गते जिल्लाका दशवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ ।
पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक पर्ने क्षेत्रमा खोप लगाइने छ । अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक सामग्रसहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तहमा पठाउने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए ।
दिक्तेलमा उपलब्ध गराइने खोपका लागि जिल्ला स्वास्थ्य कार्यालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्री, जिल्ला अस्पतालले कोठा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएका छन् । खोप अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयमा सङ्घ तथा प्रदेश सरकारले उपलब्ध गराएको कोभिशिल्ड र भेरोसेल गरी दुई प्रकारका भ्याक्सिन (खोप) रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म कोरोनाविरुद्धको पहिलो मात्राको खोप ७४ हजार ७७४ र दोस्रो मात्राको खोप ४० हजार ९७९ जनालाई उपलब्ध गराइएको डिसिसिएमसीका संयोजक दाहालले बताए ।
विसं २०६८ को जनगणनाअनुसार दुई लाख छ हजार ३१२ जनसङ्ख्या रहेको जिल्लामा सबै नागरिकलाई पुग्ने खोप भने नरहेको जनाइएको छ । जिल्लाका लागि आवश्यक खोप उपलब्ध गराउन सम्बन्धित निकायमा पत्राचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सिक्देलले जानकारी दिए ।
गत वैशाखयता तीन हजार ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको यस जिल्लामा हाल तीन जना सक्रिय सङ्क्रमित छन् । विभिन्न समयमा विभिन्न स्थानीय तहका गरी १५ जना स्थानीय बासिन्दाले ज्यान गुमाइसकेका जिल्लामा हालसम्म बन्दाबन्दी भने गरिएको छैन ।
जिल्लामा लकडाउन नगरिए पनि स्वास्थ्य सुरक्षा सतर्कतालाई भने कडाइका साथ पालना गरिएको जनाइएको छ । पहाडी जिल्लामा २०० तराई तथा ठूला शहर भएका जिल्लामा ५०० सङ्क्रमित पुगेको खण्डमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले लकडाउन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भनेको थियो ।
जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या कम भएसँगै जिल्लाका स्थानीय तहका विभिन्न ठाउँमा निर्माण गरिएका २३४ श्ययाको संस्थागत आइसोलेशन खाली रहेको जनाइएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि जिल्लाका स्थानीय तहमा स्थापना गरिएका अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका स्वास्थ्यकर्मीलाई समेत सामान्य किसिमका बिरामीको उपचारमा खटाइएको जनाइएको छ ।