कोरोना भाइरसले संसारभरिको वातावरण आक्रान्त भएकावेला नयाँ भेरियन्ट ओमिक्रोन फैलिन सक्ने भएकाले सर्तकता अपनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् ।
कपिलवस्तुको बाणगंगा २, नन्दनगरस्थित कैलाश आश्रमद्वारा आयोजित २७ औँ धनधान्याञ्चल महायज्ञलाई सम्बोधन गर्दै उनले नेपालमा नयाँ भेरियन्ट हालसम्म प्रवेश नभएको भए पनि सवै नेपाली नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन सुझाव दिइन् ।
सम्बोधनको क्रममा उनले हाम्रो संस्कृति नै हाम्रो पहिचान भएको हुँदा यसको विकास गर्न राज्यले जोड दिएको बताइन् । ‘हाम्रो पहिलो धर्म जनताको स्वस्थ्य जिवन हो, प्रकृतिको आनन्द लिन स्वस्थ्य हुनुपर्छ’, उनले भनिन् ।
राष्ट्रपति भण्डारीले १२७ फिट अग्लो ज्योर्तिलिङ्गको शिलापुजन, महायज्ञमा निर्माण गरिएका २ वटा प्रवेशद्वार, अष्टचिरञ्जिवी मुर्ती र विश्रामलयको अनावरण गरिन् । दुर्गा मन्दिरको पुजा अर्चना समेत उनले गरिन् ।