नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताएका छन् ।
यातायात व्यवस्था सेवा कार्यालयले सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण कार्यक्रम आज यहाँ शुभारम्भ गर्दै उनले जिल्लावासीले अब सहजै सेवा पाउने बताए ।
यातायात कार्यालयका लागि जग्गा र पूर्वाधार निर्माणका लागि पहल गरिने उनको भनाइ थियो । चितवन क्षेत्र नम्बर ३ का सांसदसमेत रहनुभएका पूर्वप्रधानमन्त्री प्रचण्डले धेरै प्रयासपछि यो सेवा शुभारम्भ भएकामा खुशी व्यक्त गरे ।
जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्नुपर्छ
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जल, जङ्गल र जमिनको सही ढङ्गले प्रयोग गर्ने गरी विकास गर्नुपर्ने बताएका छन् ।
भरतपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको सिबीच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहमा उनले जल, जङ्गल र जमिनको सही ढङ्गले सदुपयोग गर्ने किसिमले पूर्वाधार निर्माण गर्नुपर्ने बताए । यस्तो विकासले यहाँको समृद्धिको यात्रामा गुणात्मक उपलब्धि हासिल गर्ने उनको भनाइ थियो ।
उनले भने, ‘नारायणी, राप्ती, रिउ, राष्ट्रिय निकुञ्ज, धार्मिक पर्यटकीयस्थल सबै यही ठाउँमा हुनु विकासका लागि राम्रो कुरा हो ।’ यी सबै जल, जमिन र जङ्गलसँगै सम्बन्धित रहेको भन्दै उनले जिल्लाको विकासका निम्ति मात्रै नभई राष्ट्रियरुपमा आर्थिक बिकासका निम्ति मोडेल रहेको बताए । आफूले यसलाई चितवनको विकासको मोडेलको रुपमा लिएको उनको भनाइ थियो ।
सिबीच मोडलको रुपमा नारायणी नदीको विकास गर्नुले यहाँको पर्यटन, सौन्दर्य र जलको सदुपयोगको दिशामा पानि एउटा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । नेपालका धेरै ठाउँमा जल, जङ्गल र जमिनको प्रयोग गरी विकास गर्न सकिने ठाउँ रहेको भन्दै उनले सिङ्गापुरको सन्तोसा आइल्याण्डजस्तै पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए ।
विकासको मोडल चितवनले प्रस्तुत गर्नुपर्ने भन्दै उनले सबै नागरिक एक ठाउँ भएर काम गर्न जरुरी रहेको बताए । यो विकासको पनि केन्द्र बिन्दु होस् भन्नका लागि सबैले सपना देखेको उनको भनाइ छ ।