कोभिड–१९ को नयाँ भेरिअन्ट ओमिक्रोनका कारण नआत्तिन बरु सर्तक भएर आवश्यक तयारी गर्न विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले आग्रह गरेको छ ।
एउटा सम्मेलनलाई सम्बोधन गर्ने क्रममा डब्ल्यूएचओकी वरिष्ठ वैज्ञानिक सौम्या स्वामीनाथनले अहिलेको अवस्था गत वर्षको भन्दा निकै फरक रहेको बताइकी छन् । प्राप्त विवरणहरूका अनुसार ओमिक्रोन झन्डै ४० वटा राष्ट्रमा पुगिसकेको छ ।
भारतमा ओमिक्रोनबाट सङ्क्रमित कम्तीमा दुई व्यक्ति भेटिएका छन् । तर नेपालमा अहिलेसम्म यो भेरिअन्ट आइपुगेको जानकारी छैन । कोरोनाभाइरसको व्यापक उत्परिवर्तित स्वरूप ओमिक्रोन बढी सङ्क्रामक छ वा यसले खोपलाई छल्न सक्छ भन्ने विषय अझै स्पष्ट हुन सकेको छैन ।
दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले प्रस्तुत गरेका प्रारम्भिक विवरणअनुसार ओमिक्रोनले कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने सम्भावना छ । तर यो विश्लेषण शत प्रतिशत सही नहुन सक्ने बताइएको छ ।
रोएटर्स नेक्स्ट कन्फरेन्समा बोल्ने क्रममा डा. स्वामीनाथनले दक्षिण अफ्रिकाको तथ्याङ्कलाई उद्धृत गर्दै यो भेरिअन्ट अत्यन्तै सङ्क्रामक रहेको र यो विश्वभरि प्रभाव पार्न सक्ने ’स्ट्रेन’ बन्न सक्ने सम्भावना रहेको बताइन् । तर यस्तो पूर्वानुमान गर्न भने कठिन रहेको उनको भनाइ छ ।
उनका अनुसार अहिले विश्वमा फेला परेका कोभिड बिरामीमध्ये ९९ प्रतिशत डेल्टा भेरिअन्टबाट सङ्क्रमति रहेका छन् । ‘हामी कति चिन्तित हुनुपर्छ? हामी तयार अनि सतर्क रहनुपर्छ, आत्तिने होइन किनभने हामी एक वर्षभन्दा पहिलेको समयसँग तुलना गर्दा निकै फरक अवस्थामा छौँ’, उनले भनिन् ।
डब्ल्यूएचकोका आपत्कालीन मामिला हेर्ने निर्देशक माइक रायनले विश्वमा झहिले कोभिड–१९ विरुद्ध‘निकै प्रभावकारी खोपहरु उपलब्ध भएका र व्यापक रूपमा खोप वितरण गर्ने विषयमा ध्यान केन्द्रित गरिनुपर्ने बताए ।
कोभिडको नयाँ भेरिअन्टलाई ओमिक्रोन नाम दिइएको एक साता हुँदा कोभिडको यो स्वरूपले पार्न सक्ने खतराबारे बुझ्न विश्व सङ्घर्षरत छ । तर यो जटिल विषयबारे केही जानकारीहरू भने प्राप्त हुन थालेको छ ।
यो भेरिअन्ट धेरै उत्परिवर्तन पश्चात् विकासित भएको छ भन्ने कुरा भन्ने हामीले थाहा पाइसकेका छौँ। दक्षिण अफ्रिकाका अधिकारीहरूले कोभिड सङ्क्रमण बढ्नुमा यो कारक रहेको बताएका छन् ।
एक पटक कोभिड भइसकेका व्यक्ति ओमिक्रोनबाट सङ्क्रमित हुन सक्ने सम्भावना कति छ भन्ने कुराबारे थप थाहा पाउन आवश्यक छ ।