कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश १ प्रथम अधिवेशनको मतदान सकिएको छ। प्रदेश निर्वाचन समितिका अनुसार दिउँसो २ बजेबाट सुरु भएको मतदान कार्य साँझ करिब ७ बजे सकिएको जनाएको छ।
यसक्रममा कुल १ हजार ८ सय ४ मतदातामध्ये १ हजार ७ सय ५२ मत खसेको समितिका अधिकृत भरत थापाले जानकारी दिए। मतदान सकिएपछि सबै मतपेटिका विराटनगरस्थित पार्टी कार्यालयमा लगिने थापाले जानकारी दिए। समितिका अनुसार मतगणना भने आइतबार बिहान ८ बजे पार्टी कार्यालयमा हुनेछ।
प्रदेश सभापतिका लागि डा। शेखर कोइराला पक्षबाट मोरङका गुराज घिमिरे र कृष्णप्रसाद सिटौलापक्षबाट उद्धव थापा प्रतिस्पर्धामा छन्।
झापाका थापालाई संस्थापन पक्षको साथ छ। निर्वाचनमा १ सभापतिसहित ९ पदाधिकारीका लागि २० जनाको उम्मेदवारी परेको छ। शनिबार बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने तालिका रहे पनि इलामका तीन जना उम्मेदवारको नाम मतपत्रमा समावेश गर्न छुटेपछि प्रभावित भएको थियो। त्यसपछि करिब ६ घण्टा ढिलोगरी मतदान सुरु भएको थियो।