लुम्बिनी प्रदेश वाई वाई यू–१९ पुरुष क्रिकेट प्रतियोगितामा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित टियू मैदानमा आइतबार भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेशलाई एक सय १३ रनले हरायो ।
जितका लागि दुई सय १३ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा सबै विकेटको क्षतिमा ९९ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि लोकेश बमले सर्वाधिक २५ रन बनाए । कप्तान खडक बोहोराले २१, शेर मल्लले १५ र नारायण जोशीले ११ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका अजय चौहान एक्लैले पाँच विकेट लिए । दुर्गेस गुप्ताले तीन तथा मोहमद हुसेनले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेटको क्षतिमा दुई सय १२ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाए ।
९५ बलको सामना गरेका देवले पाँच चौका र चार छक्का हाने । यसैगरी विशाल विक्रम केसीले ५२, दुर्गेस गुप्ताले ३२ र प्रज्वल थापाले २४ रन बनाए ।
बलिङमा सुदूरपश्चिमका आकाश चन्दले तीन विकेट लिए । हेमन्त धामी र शेर मल्लले दुई दुई विकेट लिए । नरेन साउद र राहुल भण्डारीले एक एक विकेट लिए ।
राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगितामा सातै प्रदेशको सहभागिता रहेको थियो ।