राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नवनिर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पार्टीमा गुट अन्त्य भएको बताएका छन् ।
आइतबार आयोजित शपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष लिङ्देनले पार्टीमा गुट अन्त्य भएको बताएका हुन् । उनले भने, ‘अब राप्रपामा गुटको अन्य भयो । सबै राप्रपा भयौं ।’
लिङ्देनले आफू पटक पटक मरेर बाँचेको भन्दै आफ्नै जीवनकलामा ठूलो दलका रुपमा आउने बताए । ‘माओवादीले बीच सडकमा मलाई आक्रमण गरेर मर्यो अब काम लाग्दै भनेर फ्याँकेका थिए’, उनले भने, ‘कोभिडको समयमा पनि एक दिन ढिला गरेर काठमाडौं ल्याएको भए म मर्थेँ, तर बाँचे । म राप्रपालाई भताभूंग बनाउन आएको होइन ।’
काम नगरी पार्टीमा बस्न नपाउने व्यवस्था अन्त्य गर्ने र सबै केन्द्रीय सदस्यलाई पनि काम दिने उनले बताए । उनले भने, ‘अब जिल्ला सभापतिहरुदेखि परीक्षण सुरु हुन्छ। स्थानीय तहको निर्वाचन हामी सबैको पहिलो परीक्षण हुनेछ ।’
पूर्व राप्रपाका नेता कार्यकतालाई पार्टीमा फर्किन आग्रह गरेका लिङ्देनले सामान विचार भएकालाई पनि पार्टीमा स्वागत गर्ने बताए ।