भारतमा कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमणका मामिला एकैदिन एक्कासी पाँच गुनाले बढेको छ ।
समाचार एजेन्सी एएनआइका अनुसार आइतवार महाराष्ट्र राज्यमा ७, राजस्थानमा ९ र दिल्लीमा १ जना ओमिक्रोन सङ्क्रमित फेला परेका छन् ।
कति पुगे भारतमा ओमिक्रोन सङ्क्रमित ?
पुष्टि भएका पछिल्ला मामिलासँगै अब भारतमा ओमिक्रोन सङ्क्रमितको कूल सङ्ख्या २१ पुगेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले यो भेरिअन्टलाई चिन्ताको विषय बताएको छ । सङ्क्रामकतालाई हेर्दा यसले अघिल्लो डेल्टा भेरिअन्टलाई समेत पछि पार्न सक्ने बताइएको छ ।
डब्लुएचओकी वैज्ञानिक सौम्या स्वामिनाथनले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यो डेल्टाभन्दापनि सङ्क्रामक भएको बताएकी छन् ।
भारतमा यात्रा कडाइ
नयाँ भेरिअन्ट फैलनबाट रोक्ने उद्देश्यले भारतमा केन्द्र एवं राज्य सरकारहरूले विमानस्थलहरूदेखि लिएर अन्य यातायात केन्द्रहरूमा परीक्षण तथा स्क्रीनिङ् तेज पारिरहेका छन् ।
महाराष्ट्रको पुनेमा ओमिक्रोनका थप ७ मामिला आइतवार पुष्टि भएको थियो । तिनमा नाइजिरियाबाट भारत फर्किएकी एक महिला र उनकी आफन्तहरू तथा फिनल्यान्डबाट पुने आइपुगेका एक व्यक्ति छन् ।
राजस्थानको स्वास्थ्य विभागका अनुसार त्यहाँ दक्षिण अफ्रिकाबाट फर्किएको एक परिवार तथा तिनका सम्पर्कमा आएका व्यक्तिहरूको नमूनाको जीनोम सिक्वेन्सीङ् गर्दा ९ जनामा ओमिक्रोन पुष्टि भएको छ ।
भारतको साथसाथै विश्वभरिका कैयन् देशहरूमा पनि ओमिक्रोन सङ्क्रमणमा तेज वृद्धि पाइएको छ । अमेरिकाको १५ राज्यमा ओमिक्रोन सङ्क्रमण फेला परिसकेका छन् ।
ब्रिटेनले पनि ओमिक्रोनको चिन्ताका कारण नाइजिरियालाई उसको ’यात्रासम्बन्धी रातो सूची’मा राखिदिएको छ । त्यस्तो सूचीमा भएका मुलुकबाट आउने यात्रुहरूले कोरोनाभाइरस परीक्षण एवं क्वारन्टीनका कडा निषेधहरू पालना गर्नुपर्छ ।
नेपालमा चिन्ता
दक्षिणी छिमेकी भारतमा लगालग ओमिक्रोन सङ्क्रमित फेला परेपछि त्यसले नेपालमा पनि चिन्ता बढाइदिएको छ ।
ओमिक्रोन भित्रिन सक्ने आशङ्काका माझ पूर्ण मात्रा खोप दिइएका मानिसहरूलाई बुस्टरका रूपमा अर्को मात्रा खोप दिने बारेमा छलफल भइरहेको र छिट्टै निर्णयमा पुगिने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बताएका छन् ।
हालसम्म नेपालमा पूर्ण मात्रा खोप लगाएकाहरू कूल जनसङ्ख्याको २८ प्रतिशत मात्र छन् ।