नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुराकानीका क्रममा उनले लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न बनेको राजनीतिक गठबन्धनमा कुनै समस्या नदेखिएको बताए ।
अध्यक्ष नेपालले तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलगअलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताए ।
उनले अरु निर्वाचनमा मुलुक प्रवेशै नगरेको र केही दिनमा हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनले झन सफलता हासिल गर्ने बताए ।