नेपालमा पनि कोरोनाको ओमिक्रोन भेरियन्ट फेला परेको छ ।
सोमवार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सह–प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरिअन्ट भेटिएको जानकारी दिए ।
ओमिक्रोन भेरिएन्ट पुष्टि हुनेमा ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्ति रहेको मन्त्रालयले जनाएको छ । मंसिर ३ गते ओमिक्रोन भेटिएको देशबाट नेपाल प्रवेश उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।
मन्त्रालयका अनुसार उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको र पीसीआर रिपोर्ट नेगेटिभसहित नेपाल प्रवेश गरेका थिए ।
दुवै जनामा अस्पतालको आइसोलेसन कक्षमा रहेका छन् । तर, अस्पतालको नाम खुलाइएको छैन । उनीहरुमा गम्भीर लक्षण देखिएको छैन ।
उनीहरूसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिंग गरिएको र पीसीआर गर्दा सबैको नतिजा नेगेटिभ आएको मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक्ट ट्रेसिंगको कार्यलाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमणबाट बच्न पनि जनस्वास्थ्यका सबै मापदण्डहरुको पालना ( मास्कको सही प्रयोग, भौतिक दुरी कायम गर्ने, भिडभाड नगर्ने तथा हात धुने कार्य, हावा आवतजावत राम्रो हुने स्थानमा बस्ने) र खोपको प्रयोग महत्वपूर्ण हुने भएकोले सबैमा मापदण्डको पालना गर्न र खोप अभियानमा सहभागिता हुनु मन्त्रालयले अनुरोध गरेको छ ।
दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिअन्ट अहिलेसम्म छिमेकी भारत सहित ४० भन्दा बढी देशहरूमा फैलिइसकेको छ ।
यो भरिअन्ट अत्यधिक उत्परिवर्तित भएको भनिएपनि खोपको प्रभावकारिता हुने वा नहुनेबारे बैज्ञानिकहरू अझैसम्म स्पष्ट भइसकेका छैनन् । विश्व स्वास्थ्य सङ्गठनका वैज्ञानिकहरूले यसबाट नआत्तिन तर सचेत रहन आग्रह गरेका छन् ।
विश्वका धेरै देशहरूले दक्षिण अफ्रिकासहित ओमिक्रोन भेटिएका देशहरूमा यात्रा प्रतिबन्ध लगाएका छन् । नेपालले पनि दक्षिण अफ्रिकाबाट नेपाल आउन रोक लगाएको छ ।