नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाभियोग लगाउन माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ ।
जबराको राजीनामा माग्दै कात्तिक दोस्रो सातादेखि सर्वोच्च अदालतमा विरोधमा रहेको नेपाल बार एसोसिएसनको टोलीले पूर्व प्रधानमन्त्री समेत रहेको प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीको निवास बालकोट पुगेर ध्यानाकर्षण गराएको हो ।
सो क्रममा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जबरा विचोलिया र भ्रष्टाचारको नाइके भएकोले महाभियोग लगाउन माग गरे । जबरामाथि महाभियोग लाग्ने पर्याप्त आधार रहेको र सबै दल मिलेमा महाभियोग पारित हुने उनले बताए ।
बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको नेतृत्वमा बालकोट पुगेको टोलीमा बारका उपाध्यक्ष, महासचिव लिलामणी पौडेल, कोषाध्यक्ष रुद्र पोखरेल, पाँच जना सदस्यहरू, पूर्वअध्यक्षहरू शम्भु थापा, पूर्वमहासचिव रमण श्रेष्ठलगायत छन् ।
नेपाल बार एसोसिएसनसहित देशभरका कानुन व्यवसायी प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् ।