अपाङ्गता भएको महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।
शारीरिक र मानसिक अपाङ्गता भएको महिलालाई जवर्जस्ती करणी गरेको अभियोगमा लमजुङ प्रहरीले बेंसीशहर नगरपालिका १० का ४० बर्षीय हरिबहादुर गुरुङलाई पक्राउ गरेको हो ।गुरुङले राईनास नगरपालिका ६ स्थित जंगलमा लगी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका २५ बर्षिया महिलालाई जवर्जस्ती करणी गरेको कसूरमा प्रहरीले सोमबार साँझ ५ः३० बजेतिर पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीकाअनुसार घटनाको एक घण्टामै प्रहरीले पक्राउ गर्न सफल भएको बताएको छ ।
पीडित महिला आफन्तको घर जानेक्रममा एकान्त ठाउँ पुग्दा गुरुङले फेलापारी जंगलमा लगी जवर्जस्ती करणी गरेको बुझिएको छ । महिला अबेरसम्म घरमा नआएपछी आफन्तहरुले खोजतलास गर्दैजाँदा जंगलमा पीडित महिला र हरिबहादुर गुरुङलाई फेला पारेको थियो ।गुरुङ घटनास्थलबाट फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय, लमजुङ र प्रहरी चौकी धमिलिकुँवाबाट खटिएको संयुक्त प्रहरी टोलीले १ घण्टापछि पक्राउ गरेको बताएको छ ।
उनलाई राईनास नगरपालिका ६ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।पक्राउ परेका गुरुङलाई मंगलबार लमजुङ जिल्ला अदालतबाट जवर्जस्ती करणीसम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।