सल्यानमा ७१ प्रतिशत घटना मदिरा सेवनबाट हुने गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानमा विगत तीन वर्षमा दर्ता भएको मुद्धाको प्रतिकृत हेर्दा ७१ प्रतिशत घटना मदिरा सेवनबाट भएको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानको तीन वर्षको तथ्यांकमा ३ सय ११ मुद्धा दर्ता भएकोमा २ सय २१ मुद्धा मादक पदार्थ सेवन गरि घटेका घटना भएको पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ६२, आ.व. २०७६/०७७ मा ६४ र आ.व. २०७७/०७८ मा ९५ गरी २ सय २१ मुद्धा मदिरा सेवनबाट घटेका घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले बताए । मदिरा सेवनकै कारण समाजमा महिला हिंसा, घरेलु हिंसा, अभद्र व्यवहार, जवरजस्ती करणी, ज्यान पार्ने धम्की, सवारी ज्यान, कर्तव्य ज्यान लगायतका घटना भइरहेको उनको भनाई छ ।
घरेलु मदिराले मात्र पनि बढी मात्रामा ब्रान्डेड मदिराले घटना बढाएको खड्काको भनाई छ । घरेलु मदिरासँगसँगै ब्रान्डेड मदिराहरुलाई पनि नियन्त्रण गर्न सकिएमा समाजमा हुने सबै प्रकारका घटना न्यूनिकरण गर्न सकिने उनको भनाई छ ।
स्थानीय मदिरा भन्दा झन्डै दुई गुणा ब्रान्डेड मदिराले समाजमा अपराधिक घटना बढाउन मद्यत गरेकाले राज्यले समयमै सोच्नु पर्ने समय आएको उनको भनाई छ । यदि सल्यानका स्थानीय पालिकाहरुले ब्रान्डेड मदिरामा नियन्त्रणमा साथ दिए ब्रान्डेड मदिरा नियन्त्रण तथा रोकथाममा आफू लागि पर्ने बताए ।
समाजमा हुने सामाजिक अपराधका घटना नियन्त्रण तथा न्युनिकरण गर्न स्थानीय पालिकासँगै सवै पक्ष उत्तिकै जिम्मेवार र सामाजिक चेतनाका कार्यक्रम सञ्चालन गर्नु पर्ने सल्यान जिल्ला इन्सेक प्रतिनिधि मिना बुढाथोकीले बताइन । मदिरा सेवनकै कारण धेरै मानिस घरवार बिहिन हुनु पर्ने अवस्था आएको र त्यसबाट सबैभन्दा बढी महिला र बालबालिका पिडित भएको बुढाथोकीको भनाई छ ।