मौज्यात नभएको चेक (बाउन्स चेक) जारी गरेर ३ करोड ४ लाख वरावरको ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लमजुङ्ग वेशीशहर– ६ घर भई हाल काठमाडौंको टोखामा वस्ने ४१ वर्षीय संन्दिप कुमार गुरुङ्ग रहेका छन् ।
उनले नवलपरासीमा जग्गा प्लानिङ्ग गर्नका लगि भन्दै विभिन्न व्यक्तिबाट पैसा लिएर र पछि ३ करोड ४ लाख रकमको बाउन्स चेक जारी गरी ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीले जानकारी दिए ।
प्रहरीका अनुसार उनले आफू व्रिटिस आर्मीवाट अवकाश प्राप्त गरेको, काठमाडौ महाराज चप्पल कारखानास्थित पुना एकेडेमी अफ हेयर एण्ड व्यूटीको व्यवसायी भन्दै चिनाउने गरेको भेटिएको छ ।
उनीमाथि उच्च अदालत पाटन ललितपुरवाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको हुन सक्ने भएकोले उजुरी गर्न पीडितहरुवाट महानगरीय प्रहरी परिसर काठमाडौंले आग्रह गरेको छ ।