नेपाली कांग्रेसका प्रभावशाली नेता तथा तिन पटकदेखी लगातार प्रत्यक्ष निर्वाचनबाट सांसद चुनिएका अमरेश कुमार सिंह केन्द्रिय महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् ।
हिजो अबेर रातिसम्म सम्पन्न सर्लाही क्षेत्र नं.४ को क्षेत्रिय अधिवेशनमा सांसद सिंह लगायत उनको प्यानलले लजास्पद हार व्यवहोरेको हो ।
सक्रिय सदस्यता विवादका कारण लामो समयदेखि हुन नसकेको कांग्रेस सर्लाहीको हिजोको निर्वाचनमा अमरेश कुमार सिंह महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन् ।
केन्द्रिय महाधिवेशन प्रतिनिधिका लागि हिजो सम्पन्न मतदानमा सिंहलाई उनका राजनितिक प्रतिद्वन्दी, प्रदेश २ का महिला तथा बालबलिका मन्त्री वीरेन्द्र प्रसाद सिंहले २४८ मतको बदला ५१६ मत ल्याएर विजयी भए ।
सिंहको प्यानल महाधिवेशन प्रतिनिधिका सांथै क्षेत्रिय सभापतिमा पनि पराजित भयो । उनको प्यानलबाट क्षेत्रीय सभापतिमा लडेका हरेन्द्र सहनीलाई पराजित गर्दै मन्त्री सिंहको प्यानलबाट लडेका रामआश्रय साह विजयी भएका हुन् ।
सर्लाहीमा दुबै सिंह पक्षको आन्तरिक विवादका कारण हालसम्म अधिवेशन हुनसकेको थिएन । हिजो क्षेत्र नं. १ र ४ मा निर्वाचन सम्पन्न भएको हो भने आज क्षेत्र नं. ३ मा मतदान हुंदैछ । क्षेत्र नं. २ मा अझै विवाद कायमै रहेको छ ।
यसैबिच सांसद सिंह प्रतिनिधिमै पराजित भएपछी सर्लाहीका स्थानीय कांग्रेसका नेताहरुले त्यसलाई पार्टी शुद्धिकरणको शुरुवात भएको बताएका छन् ।
नेपाली कांग्रेस सर्लाहीका युवा नेता विकाश ठाकुरले सांसद सिंहलाई पराजित गर्दै सर्लाही कांग्रेसले पार्टी शुद्धिकरणको अभियान थालनी गरेको बताए ।
केन्द्रमा आफ्नो पावर भएको धाक देखाई जनतालाई भ्रममा पार्ने र पार्टीमा गुटबन्दी गर्ने नेतालाई पराजित गरेर सर्लाहीवासीले कांग्रेस शुद्धिकरणको अभियान थालेको युवा नेता ठाकुरले बताए ।
केन्द्रिय महाधिवेशन प्रतिनिधिमा हारेसंगै सांसद सिंहले आगामी निर्वाचनमा टिकट पाउने सम्भावना पनि अन्त्य भएको भन्दै नेता ठाकुरले क्षेत्रिय निर्वाचनको परिणामले कांग्रेसका कार्यकर्तामा खुसि छाएको बताए