काठमाडौँ, ७ फागुन – गैंडा संरक्षणको कथामा आधारित चलचित्र ‘खाग’ ट्रेलर सार्वजनिक भएको छ। राजधानीमा एक कार्यक्रमका बीच निर्देशक मनोज पण्डित निर्देशित चलचित्र ‘खाग’ को ट्रेलर सार्वजनिक गरिएको हो।
उक्त चलचित्रलाई गैंडा संरक्षणका लागि भएको प्रयासको कथा भनिएको छ। चितवन राष्ट्रिय निकुञ्जका तत्कालिन सहायक वार्डेन कमलजंग कुँवर चोरी शिकारी प्रतिरोध ईकाईको प्रमुख भएर काम गर्दा गैंडा संरक्षकका लागि खेलेको भूमिकालाई लिएर यो फिल्म निर्माण भएको छ।
यसअघि ग्रेटर नेपाल नामक डकुमेन्ट्री बनाएर ख्याती पाएका पण्डितले कुँवरले लेखेको ‘गैँडालाई चार वर्ष’ भन्ने पुस्तकको फिल्म बनाएका हुन्। निर्देशक पण्डितले राजधानीमा सोमबार यस फिल्मको टे«लर सार्वजनिक कार्यक्रममा भने, ‘यो फिल्म साहित्य नभएर एउटा संघर्षको कथा हो।’
कुँवरले लेखेको चलचित्र खागमा प्रविण खतिवडा प्रमुख भूमिकामा देखिएका छन्। त्यसमा उनले लेखकको भूमिका निर्वाह गरेका छन्। प्रमिला कुँवरको निर्माण रहेको फिल्ममा नरेन्द्र बराल, आरजेस रेग्मी, सिर्जना अधिकारी, अशान्त शर्मा, पुस्कर गुरुङ लगायतले अभिनय गरेका छन्।
दीपक बज्रचार्यको छायांकन रहेको फिल्मलाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन्। फिल्म फागुन २४ गतेदेखि देशभर प्रदर्शनमा आउने निर्देशक पण्डितले बताए।
हेर्नुुुहोस् यस्तो बन्यो चलचित्र ‘खाग’को ट्रेलर
https://www.youtube.com/watch?v=sMqZctoXtH4&