नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा.राजाराम कार्कीले कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
आज शुक्रबार पत्रकार सम्मेलन गरेर नेता कार्कीले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
कार्यक्रममा बोल्दै कार्कीले पछिल्लो समयमा राष्ट्रियता अत्यन्तै कमजोर भएको भन्दै आफ्नो महामन्त्रीमा उम्मेदवारी राष्ट्रियताको लागि भएको जिकिर गरे । उनले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले लामो लडाई लडेको भएपनि कांग्रेसमा लोकतन्त्रभन्दा पनि गुटतन्त्र हावी हुँदै गएको आवास हुन थालेको गुनासो पोखे ।
२०२९ सालमा भैरवी हाईस्कुलको सभापति, २०३० सालमा नेविसंघ धादिङ्को जिल्ला सभापति, २०३१ मा सिक्किम काण्डमा महत्वपुर्ण भूमिका निर्वाह गरेका कार्कीले ०३६ साल, ४२ साल, ०४६ सालको आन्दोलनमा हुँदै गएर ५६ सालको जनआन्दोलनको आफुले सकेको सम्पुर्ण महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।
४८ वर्ष पार्टीमा लामो संघर्ष गरेका कार्कीले आफु जन्मेको स्थानमा आजसम्म चुनावमा लड्न पार्टीले टिकट नदिएको भन्दै दुखेसो पोखे । कार्कीले सत्यवादी कांग्रेसीहरुलाई न्याय दिलाउनको लागि महामन्त्रीमा उम्मेदवारी दिन लागेको बताए ।
कार्कीले महामन्त्रीमा आफ्नो उम्मेद्धवारी किन ? भनेर कारणपनि खुलाएका छन् । उनले अघि सारेका बुँदाहरु यस्ता छन् ः
१. नेपाली कांग्रेसमा देखिएका तमाम विकृति र विसंगतिको अन्त्य गर्दै न्याय, निष्ठा र निश्पक्षताको राजनीतिक संस्कार सुरु गर्न,
२. नेपाली कांग्रेसलाई जनतामाथि शासन गर्ने पार्टी होईन, जनताको सेवा गर्ने पार्टी बनाउन,
३. नेपाली कांग्रेसलाई आफू शक्तिशाली होईन, देश र जनतालाई शक्तिशाली बनाउने पार्टी बनाउन,
४. नेपाली कांग्रेसलाई लुटतान्त्रिक होईन लोकतान्त्रिक पार्टी बनाउन (टिकटदेखि मन्त्री लगायतका उच्च राजनीतिक पदहरु अन्यायपूर्ण वितरण गर्ने परम्परा सदाका लागि अन्त्य गर्न),
५. बाणीमा होईन व्यवहारमै नेपाली कांग्रेसलाई समाजवादको फलामे लिगबाट अगाडि बढाई गरिब निमुखा नोपली जनताको पक्षमा उभिएको एउटा वास्तविक समाजवादी पार्टी बनाउन ।